उत्पत्ति 1
सृष्टिको वर्णन
1 आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो।
2 पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो।
3 अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो।
4 र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।”
7 परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
8 परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो।
10 परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
11 अनि परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा
उमारोस्।” तब त्यस्तै भइहाल्यो।
12 भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल
थियो।
13 साँझ पर्यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन
चिन्हको रूपमा काम गरून्।
15 र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो।
16 अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू
पनि बनाउनुभयो।
17 अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल
थियो।
19 साँझ पर्यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका
सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
22 अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्वीमा
वृद्धि हुँदैजाओस्।”
23 अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-
पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो।
25 परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि
परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू,
पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
27 यसैकारण परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
28 परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा
पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती
तिमीहरूलाई आहाराको निम्ति हुनेछन्।
30 अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको
निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो— छैटौँ दिन।
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 https://www.bible.com/bible/1483/GEN.1.NNRV?parallel=88
बाइबल (उत्पत्ति) बाट एउटा पुरानो सर्प, ठूलो ड्र्यागन हो भनेर विश्वास गरिन्छ।
'구약 > 창세기' 카테고리의 다른 글
창세기 2장 (한글 / 영어 / 네팔어 자막) (0) | 2024.01.14 |
---|